२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

निर्माणाधीन भवन

सिंहदरबार अघि यसरी बन्दैछ नेपाल आयल निगमको नयाँ भवन



काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयाल निगमको केन्द्रीय कार्यालय भवनको निर्माणकार्य तीव्र गतिमा अघि बढेको छ । निर्माण सुरु भएको यस अवधिमा भवनको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएपछि पुरानो भवन भत्काएर हाल सोही स्थानमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माणको काम भइरहेको छ । आयल निगमको नयाँ भवन काठमाडौं उपत्यकाभित्रकै नमुना भवनको रूपमा डिजाइन गरिएको छ ।

भवन निर्माणको डिजाइन र सुपरभिजनको काम एनट आर्किटेक्चरल एन आर्टिटेक्ट प्रालिले गरेको हो । भवनको डिजाइनमा नयाँपन दिइएको छ । दुई तल्ला बेसमेन्टसहित १४ तलाको भवन निकै आधुनिक र सुविधा सम्पन्न ढंगले डिजाइन गरिएको छ ।

सामन्तर ग्रुप प्रालि नेपाल आयल निगम भवनका प्रोजेक्ट म्यानेजर पुण्यकुमार खर्बुजाले भवन निर्माणको काम धमाधम भइरहेको पूर्वाधार परिवेशलाई बताए । उनका अनुसार भवनमा हाल टायल विछ्याउने, फल्स सिलिङ राख्ने ग्रेनाइट राख्नुको साथै रंगरोगनको काम एक साथ अघि बढेको छ ।

‘आधुनिक भवन ५ रोपनी तीन आना क्षेत्रफलमा निर्माण भइरहेको छ । जसमध्ये भवन क्षेत्रले ५४ प्रतिशत क्षेत्रफल ओगटेको छ भने बाँकी क्षेत्रमा हरियाली, पार्किड र फाउन्टेन निर्माण गरिनेछ,’ उनले भने, ‘यस भवन २६५४.९७ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । दुई वटा बेसमेटन्टमा ६१ वटा गाडी र ६८ वटा मोटरसाइकल अटाउन सक्ने क्षमता रहेको छ ।’

भवनको पहिलो तल्लामा डेपुटी म्यानेजिड डाइरेक्टरसहितको वित्त विभाग, दोस्रो तलमा प्रशासन विभाग, तेस्रो तलामा इन्जिनियरिङ विभाग, चौथो तलामा गुणस्तर नियन्त्रण विभाग, पाँचौ तलामा आन्तरिक नियन्त्रण विभाग, छैठौँ तलामा डेटा केन्द्र, सातौँ तलामा एलपीजी उड्डयन विभाग, आठौँ तलामा पुस्तालकाल डिएमडी मार्केटिङ, नवौँ तलामा १२० जना हटाउने सेमीनार हल, दसौँ तला स्टोर रहने गरी डिजाइन गरिएको छ ।

भवनको विशेषता :

कंक्रिट फ्रेम संरचनामा निर्माण गरिएको भवन बेसमेन्टबाट ५२.५ मिटर र जमिन तलाबाट ४५.३५ मिटर उचाइ रहेको छ । भवनलाई नयाँपन दिनको लागि अघिल्लो भागको तीन तलासम्म छडके पिलर राखिएको छ भने भवनको भित्री भागको चौथो तलाबाट टप फ्लोरसम्म पनि छडके पिलर राखेर निर्माण गरिएको छ ।

भवनमा अपाङ्गमैत्री संरचना निर्माण गरिएको छ । कार्यालसम्म सहज रूपमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको लागि भवनमा प्रवेश गर्न ¥याम्पको साथै दुईवटा लिफ्टको व्यवस्था गरिएको छ । भवनभित्र अपाङ्गता भएका व्यक्तिहरू, महिला पुरुष र कार्यालय प्रयोजनका लागि छुटाछुट्टै शौचालय निर्माण गरिएको छ । त्यसैगरी भवनभित्र दुई ठाउँमा भर्याङ निर्माण गरिएको छ ।

भवनमा एउटा इमरजेन्सी भर्याड निर्माण गरिएको छ । भवनमा हुनसक्ने आगलागीको घटनालाई तत्काल नियन्त्रण गर्नको लागि अन्डरग्राउण्डदेखि टप फ्लोरसम्मका प्रत्येक फ्लोरहरूमा फाइर फाइटिडको व्यवस्था गर्ने गरी निर्माण गरिएको छ । यसको लागि अण्डरग्राउण्डमा पानी ट्याङकी निर्माण गरिनेछ । कार्यालय प्रयोजनको लागि २५० मिटरको डिप बोरिड गरिएको छ ।

दुई तला अण्डरग्राउण्ड माटो निकास सहज बनाउन लागि १४४ वटा प्रोटेक्सन पाइल राखिएको छ । भवन परिसरसँग जोडिएका अन्य भवनहरूलाई क्षति हुनबाट जोगाउन पाइल राखिएको हो । त्यसैगरी भवनलाई बलियो बनाउन तल्लो बेसमेन्टमुनि ७६ वटा बेरिड पाइल राखिएको छ ।

बेरिड पाइल माथि नौ सय एमएमको राफ्ट ढलान गरिएको छ । भवनको तल्ला बेसमेन्टबाट सात सय बाई सात सय एमएमको ४९ वटा पिल्लर राखिएको छ । भवनको डिजाइन अनुसार ग्राउण्ड फ्लोरदेखि टप फ्लोरसम्म पिलर संख्या घटाएर राखिएको छ ।

भवनको सिभिल स्ट्रक्चरसँगै इन्टेरियरअन्तर्गत भवनभित्र मेकालिकल, इलेक्ट्रिकल, प्लमबिङ, फनिर्सिङ लगायतको काम पनि निर्माण व्यवसायीमार्फत नै भयरहेको छ। भवनमा आधुनिक प्रविधिलाई पनि जोड दिइएको छ । टेलिफोन, इन्टिरनेट, सिसी क्यामेराको व्यवस्थापन गरिने गरि संरचना तयार गरिएको छ ।

निर्माणाधिन भवनलाई तोकिएकै समयमा गुणस्तरीय ढंगले सम्पन्न गर्नको लागि नेपाल आयल निगम, परामर्शदाता र निर्माण व्यवसायीबाट खटिने इन्जिनियरहरुबीच नियमित रुपमा परामर्श हुने गरेको छ ।

त्रिपक्षिय रूपमा बैठकमार्फत भएका कामको र गर्ने कामको कार्यतालिका बनाएर नै काम हुने गरेको छ । आयल निगमले पनि परामर्शदाता र निर्माण व्यवसायीबाट हुने कामहरुको नियमित रूपमा सुपरभिजन गर्दै आइरहेको छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार