५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

हिउँदे अधिवेशन

राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयकमाथि छलफल (कार्यसूचीसहित)



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको १७औँ बैठक बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो ।

आज (आइतबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विभिन्न विधेयक विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभासमक्ष प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री पौडेलले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन मन्त्री चौरसियाले ‘विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा अन्तमा अध्यक्ष दाहालले संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

बैठक १२ बजेदेखि बस्नेछ ।

हेर्नुहोस् सम्भावित कार्यसूची :

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार