काठमाडौं । नेपाल भुकम्पीय जोखिमको दृष्टिकोणले विश्वको ११ औं स्थापनमा पर्दछ । ०७२ सालमा गएको विनाशकारी भुकम्पले दिएको पीडा विर्सन नपाउदै २०८१ कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पको कारण ठूलो जनधनको क्षति हुन पुग्यो । भुकम्प कहाँ र कहिले आउँछ भन्न सकिन्न । तर सम्भावित भुकम्पको कारण हुने जनधनको क्षतिलाई भुकम्प प्रतिरोधी संरचना निर्माण गरेर न्यूनिकरण गर्न भने सकिन्छ ।
भकुम्पपछि स्टील स्ट्रक्चरका घर तथा भवन निर्माणको प्रयोग बढदै गएको छ । शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रमा पनि स्टील स्ट्रक्चरको प्रयोग भइरहेको छ । स्टील स्ट्रक्चरको प्रयोग गरेर ठूला सभाहल, सपिङ कम्प्लेक्स, पार्किङ लगायतका संरचना निर्माण भएर सञ्चालनमा आएका छन् । पछिल्लो समयमा स्टील स्ट्रक्चरका संरचना निर्माण हुने क्रम बढेसँगै शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले यी संरचनालाई नियमन गर्नको लागि गाइड लाइन निर्माणको प्रक्रिया अघि बढाएको छ ।
भवन संहिता र भवन निर्माण मापदण्ड पालना नगरी निर्माण गरिएका घरहरु भुकम्पको बेला क्षतिग्रस्त हुन सक्छन् । हाल स्टील स्ट्रक्चरबाट निर्माण भएका घर तथा संरचनामा मापदण्ड पालना नगरेको पाइन्छ । यो अवस्थालाई सुधार गर्नको लागि विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सञ्चालित एनबीसीसी परियोजनाले स्टील स्ट्रक्चर सम्बन्धि गाइड लाइन तयार गर्ने काम अघि बढाएको छ ।
कम खर्चिलो, निर्माण गर्न छिटो र छरितो हुनुको साथ वातावरणमैत्री समेत हुने भएकाले पछिल्लो समयमा आरसीसी स्ट्रक्चर भन्दा स्टील स्ट्रक्चर निर्माणमा नागरिकहरुको आकर्षण बढदै गएको छ । यसै सन्दर्भमा स्टील स्ट्रक्चरको निर्माण गर्दा डिजाइनमा ध्यान दिनु पर्ने विषय समावेश गरेर गाइड लाइन तयार गर्ने काम अघि बढेको हो ।
शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित एनबीसीसी परियोजनाले तयार पारेको गाइड लाइन सम्बन्धी मस्यौदाको विज्ञहरुलाई प्रस्तुतीकरणको कार्य सम्पन्न भएको छ । एनबीसीसी परियोजनाका वरिष्ठ स्ट्रक्चर इन्जिनियर सेइचिरो फुकुसिमाले स्टील स्ट्रक्चर सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, नेपालको सन्दर्भमा यसको फाईदा र नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा आफ्नो प्रस्तुती गर्नुभएको थियो ।
बाइट…..
त्यसैगरी एनबीसीसी परियोजनाका इन्जिनियर मिलन कार्कीले स्टील स्ट्रक्चरको महत्व र डिजाइन गर्दा अपनाउनु पर्ने प्रविधिको बारेमा प्रस्तुती गर्दै गाइड लाइनमा अपनाउन खोजिएको विषयवस्तुसँग सम्बन्धित प्रस्तुती गनुभएको थियो ।
छलफलमा सहभागी स्ट्रक्चर इन्जिनियरिङ विधाका विज्ञहरुले नेपालको सन्दर्भमा स्टील स्ट्रक्चरका महत्व बढदै गएको अवस्थामा अब बन्ने गाइड लाइनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै प्रस्तुत मस्यौदामा आएका गाइड लाइनमा छुटेको विषयवस्तुहरु समावेश गर्नुपर्ने सुझाव दिएका छन् ।
स्टील संरचना निर्माण गर्दा डिजाइन र निर्माणमा अपनाउनु पर्ने प्रविधिको बारेमा गाइड लाइनकै भूमिका हुनुपर्ने बताउदै विज्ञहरुले संरचना निर्माण गर्दा फाउण्डेसन, तला र छानो निर्माणको प्रक्रिया तहगत रुपमा नै गाइड लाइनमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् । कंक्रिटको तुलनामा स्टील बलियो हुने भएपनि यसबाट बन्ने संरचना निर्माण गर्दा कनेक्सन मजबुद्ध बनाउने विषय डिजाइन सम्बन्धी गाइड लाइनमा नै स्पष्ट व्यवस्था गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
हाल आरसीसी स्ट्रक्चर सम्बन्धी गाइड लाइन भए पनि स्टील स्ट्रकचर सम्बन्धी गाइड लाइनको अभाव रहेको छ । स्टील स्ट्रक्चरमा वल्डिङ, कनेक्सन, डिजाइनको विषयवस्तु समावेश गरेर गाइड लाइन तयार गर्ने काम अघि बढेको शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक प्रकृर्ण तुलाधर बताउनहुुन्छ ।
गाइड लाइनले स्टील स्ट्रक्चरको प्रयोग गरेर निर्माण गरिएका संरचनालाई कसरी बलियो बनाउने भन्ने निर्देशन गर्नेछ । सरकारले बनाउने गाइड लाइन अनुसार स्थानीय तहले सोही अनुसारको संरचना निर्माण र सुपरभिजनको काम गर्न सहज हुनेछ । विभागले यस आर्थिक बर्षभित्र नै गाइड लाइन तयार गरेर शहरी विकास मन्त्रालयबाट स्वीकृत गराएर कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
भुकम्प प्रतिरोधी, वातावरण अनुकूल बलियो र भरपर्दो, सरल र छिटो जडान गर्न सकिने भएकाले पनि नागरिकहरुले स्टिल स्ट्रक्चरमा आकर्षण बढदै गएको छ । यस प्रविधि मार्फत घर निर्माण गर्दा भूकम्प गएको अवस्थामा पनि मानवीय र भौतिक क्षति कम हुने गरेको छ । देशभित्र व्यवसायीक रुपमा यस्तो उद्योग समेत स्थापना भएर घर निर्माण भइरहेका छन् । नेपालका धेरै नै भूकम्प जाने भएकाले भूकम्प प्रतिरोधी र भूकम्प भएका बेलामा कम क्षति हुने, मानवीय क्षति कम हुने भएकाले यसप्रति चासो बढदै गएको छ । यो प्रविधि अमेरिका, जापान, फ्रान्स, जर्मनी, युरोप, न्युजिल्याण्डलगायतका मूलुकमा सफल भएकाले नेपालमा लागि पनि धेरै फाइदा हुने देखिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया