९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

समझदारी

नेपाल र चीनबीच टोखा–छहरे सुरुङ मार्ग निर्माणसहित ९ बुँदे समझदारी



काठमाडौं । नेपाल र चीनबीच नौ वटा विकास परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय वार्ता भएको छ । वार्तको क्रममा दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जनाकारी दिए ।

उनका अनुसार नेपाल र चीनबीच नौ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी तथा सम्झौतापत्रमा टोखा–छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल रहेको छ ।

विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र तथा नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र पनि हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच मंगलबार भेटवार्ता हुँदैछ । प्रधानमन्त्री सोमबारदेखि चीनको औपचारिक छन् । उनी शुक्रबार स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार