९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

प्रदर्शन

चितवनमा रास्वपा कार्यकर्ता र सहकारीपीडितको प्रदर्शन, स्थिति तनावग्रस्त



काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरू आक्रामक प्रदर्शनमा उत्रिएका छन् । पार्टी सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाँदै गर्दा कार्यकर्ताहरू आक्रामक प्रदर्शनमा उत्रिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी गौतम मिश्रले जानकारी दिए ।

बिहान कार्यालय समयमा रविलाई बयानका लागि वकिल कार्यालय लैजाँदै गर्दा प्रहरी र रास्वपा कार्यकर्ताबीच झडपसमेत भएको थियो । झडपमा परी २२ जनाभन्दा बढी प्रहरी घाइते भएको चितवन प्रहरी प्रवक्ता भेषराज रिजाले बताए ।

प्रहरी र रास्वपा कार्यकर्ताबीच झडप भएसँगै स्थिति नियन्त्रण बाहिर गएको थियो । प्रदर्शनमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहरा र केही अश्र्ग्यासका सेल प्रहार गरिएको रिजालले बताए । यद्यपि रास्वपा कार्यकर्ताहरू कति घाइते भए एकीन जानकारी प्राप्त नभएको रिजाल बताए ।

मंगलबारदेखि चितवनमा रवि लामिछानेको बयान जारी छ । त्यस्तै जिल्लाको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा संलग्न रहेको भन्दै बयानका लागि पोखराबाट मंगलबार बिहान चितवन ल्याइएको थियो ।

उनको बयान चलिरहँदा रास्वपा कार्यकर्ताहरू आक्रामक प्रदर्शनमा उत्रिएका छन् भने सहारा बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले पनि प्रदर्शन गरिरहेका छन् । पीडितहरूले सहकारीको बचत फिर्ता गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

पीडितहरूले गोर्खा मिडियामा गएको ६५ करोड फिर्ता गर लेखिएको ब्यानरमा जीबी राई, रवि लामिछानेलगायतको तस्बिर राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूको आन्दोलन भने शान्तिपूर्ण रहेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार