९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सडक निर्माण

दुई वषैभित्रै बुटवल–नारायणगढ सडकको निर्माणकार्य सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अबको दुई वर्षभित्रै बुटवल–नारायणगढ सडकको निर्माणकार्य सम्पन्न हुने बताएका छन् । उनले आगामी २०८३ को मंसिरभित्रै निर्माणकार्य सम्पन्न गर्नेगरी पुनः सुरु गर्ने बताए ।

बिहीबार दिउँसो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संवाद गर्दै आगामी २०८३ मंसिरभित्रै सम्पन्न गर्नेगरी बुटवल–नारायणगढ सडकखण्डको काम पुनः प्रारम्भ हुने बताए ।

‘पुनः प्रारम्भ भइसकेको छ, निर्माण कार्य अथवा केही दिनमा सुरु हुन्छ । २०८३ मंसिर भित्रमा निर्माण कार्य पूरा हुन्छ । त्यो सहमति भएको छ,’ ओलीले भने ।

चीन भ्रमणमा जानुअघि ओलीले मंसिरभित्र काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएका थिए । त्यसलगत्तै चिनियाँ ठेकेदार कम्पनीले काम सुरु गरेको छ । २०७९ साउनमै सम्पन्न हुनुपर्ने सो सडकखण्डको काम ५० प्रतिशत पनि पूरा भएको छैन ।

बुटवल–नारायणगढ सडक निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सनले पाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार