८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

व्यावसायिक उडान

टीकापुर विमानस्थलबाट तारा एयरको व्यावसायिक उडान



काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० देखि नियमित सञ्चालनमा आउने भएको छ । टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो ।

टीकापुर नगरपालिकाले तारा एअर र यती एयरलाइन्ससँग सहकार्य र समन्वय गरेको छ ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यावसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए ।

विमानस्थलमा केही समयअगाडि नेपाल एअरलाइन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यावसायिक उडान गरिसकेको छ ।

हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यात्रुको माग बढेमा उडान थपिने उनको भनाइ छ । उनले हाललाई काठमाडौंसम्मको भाडा नौ हजार र नेपालगन्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा चार हजार पाँच सय निर्धारण गरिएको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार