जाजरकोट । जाजरकोट नलगाड नगरपालिकाको रिक्त उपमेयर र कुशेँ–७ को वडाअध्यक्ष पदका लागि मतदान जारी छ । आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म २० प्रतिशत मत खसेको नलगाड नगरपालिकाका निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।
जिल्लाका दुवै पालिकामा शान्तिपूर्ण मतदान भइरहेको छ । उक्त नगरपालिकामा उपमेयर पदका लागि नेपाली कांग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने ‘शोभा’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुनिता रावल पुन र नेपाल समाजवादी पार्टी (नेसपा)बाट पवित्रा जैसी प्रतिस्पर्धामा छन् ।
नलगाड नगरपालिकामा १६ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्र छन् । उपमेयर सरिता सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परि ज्यान गएको थियो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
त्यस्तै जाजरकोटकै कुशेँ गाउँपालिका–७ मा रिक्त वडाअध्यक्ष पदका लागि मतदान जारी छ । यस वडापालिकामा प्रमुख तीन दल नेपाली कांग्रेसबाट खम्बबहादुर सिंह, नेकपा (एमाले)बाट डम्बरबहादुर घर्ती र माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली प्रतिस्पर्धामा छन् ।
यस वडामा दुईवटा मतदान केन्द्र र एउटा मतदानस्थलमा मतदान भइरहेको छ । कुशेँ गाउँपालिका–७ का वडाअध्यक्ष मनबहादुर घर्तीको २०७९ असार ४ गते हृदयघातका कारण निधन भएको थियो । उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया