९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

उपनिर्वाचन

मधेसमा जनमत पार्टीको विचल्ली



काठमाडौं । मधेसका ४ वटा जिल्लाका ७ वटा वडा पालिकामा भएको उपनिर्वाचनमा जनमत पार्टी शून्य भएको छ । उसले कुनै पनि वडामा जित्न सकेन ।

नेपाली कांग्रेसले २ वटा वडामा जितेको छ भने नेकपा (एमाले) र माओवादी केन्द्रले १–१ वटामा जितेका छन् ।
कांग्रेसले रौतहटको ईशनाथ नगरपालिका–७ र राजपुर नगरपालिका–६ मा वडाध्यक्ष जितेको छ ।

ईशनाथ नगरपालिका–७ मा कांग्रेस उम्मेदवार शेख अब्दुल खलिकले ६२७ मत प्राप्त गरि वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमाले उम्मेदवार शेख अनवारले ५७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार सदरे आलमले ४५२ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार शेख जमिरुल हकले १३५ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार शेख अमिरुलले २५ मत प्राप्त गरे ।

रौतहटकै राजपुर नगरपालिका–६ मा पनि कांग्रेसका उम्मेदवार समसे आलमले ७४४ मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन् ।

एमाले उम्मेदवार मोहम्मद नसिम अख्तरले ४३१ मत ल्याएका छन् । जनमत पार्टीका क्यामुदिन धुनियाले ४ मत ल्याएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका उम्मेदवार सकिवुल खाँ ६३१ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार आइतीकुमार आदवले ५३४ मत प्राप्त गरेकी छन् ।

कांग्रेस उम्मेदवार मोहम्मत जनिफ खाँले २८४ मत ल्याएकी छन् । यस वडामा जनमत पार्टीले उम्मेदवार नै उठाएन ।
सप्तरीमा डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार धिरेन्द्रकुमार साह ५६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भूलियादेवी थरुनीले ५८७ मत प्राप्त गरिन् ।

एमाले उम्मेदवार भगवती शाहले २६५ मत प्राप्त गरिन् भने जनमत पार्टीका उम्मेदवार शैलेन्द्रकुमार साह पाँचौ स्थानमा छन् ।

सप्तरीकै डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टीका उम्मेदवार देवेन्द्रप्रसाद यादवले ३७२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् भने यो वडापालिकामा जनमत पार्टीले आफ्नो उम्मेदवार नै उठाएन ।

धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका शुनिल कापट केवरले ६८४ मत प्रप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । जनमत पार्टीका उम्मेदवार कुशेश्वर मण्डलले २ मत पाए ।

२०७९ को आमनिर्वाचनबाट मधेसमा जनमत पार्टी चौथो ठूलो दल बनेको छ । जनमतका १३ जना प्रदेश सभा सांसद छन् भने संघमा ६ जना सांसद छन् । मधेस प्रदेशको नेतृत्व पनि जनमत पार्टीले नै गरेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार