काठमाडौं । सुदूरपश्चिमका पाँच जिल्ला (बाजुरा, बझाङ, डोटी, दार्चुला, कञ्चनपुर)का पाँच पालिकामा नेकपा (माओवादी केन्द्र) शून्य भएको छ ।
बाजुराको स्वामिकार्तिक गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुलोचना कुमारी भण्डारी निर्वाचित भएकी छन् ।
उनले १७४० मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १४७४ मत प्राप्त ग्रिन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार जवा शाहीले ५५३ मत प्राप्त गरिन् ।
यो पालिकामा माओवादी केन्द्रले उम्मेदवार दिएको थिएन । उसले एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई सघाएको थियो ।
बझाङको सुर्मा गाउँपालिका–४ मा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा ६५७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहराले ४८७ मत प्राप्त गरे भने माओवादी केन्द्रका पुष्करबहादुर बोहराले १ मत ल्याए ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका उम्मेदवार मोहन थापाले ४६८ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मत प्राप्त गरे भने माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गरे ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका उम्मेदवार धनसिंह कुँवर ३७६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३५८ मत प्राप्त गरे भने माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत प्राप्त गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा कांग्रेसकै प्रकाश चन्द ११०७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवार नानाराम कोलीले १२२ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया