काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज मंगलबार एक कार्यक्रमकाबिच सर्लाहीको हरिवन नगरपालिकामा धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेको छ ।
धर्मकाटाको डिजिटललाइजेशन कार्यक्रमको उद्घाटन सर्लाही क्षेत्र नम्बर ३ का सांसद तथा पुर्व रक्षामन्त्री हरि उप्रेती हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, पुर्व नगरप्रमुख गणेश प्रसाईं र नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बाँनियाले संयुक्त रुपमा गर्नुभएको थियो । नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले काटाको डिजिटलइजेशन सुरु हुनु राम्रो सुरुवात भएको र पालिकाले उक्त कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “काटाको डिजिटलाइजेशनको प्रक्रिया राम्रो सुरुवात भएको छ र यसले न केवल ट्रक व्यवसायलाई सुदृढ पार्ने छ, बरु यसले यातायात व्यवस्था पनि सुधार्ने छ। हामी यसका लागि सबै पक्षसँग सहकार्य गर्न तयार छौं र यसलाई अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग रहने छ।’’
धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव बानियाँले बताए । उनले डिजिटलाइजेशनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोड नियमन प्रभावकारी हुने बताए।
देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी रहेको महासंघले जनाएको छ । हाल देशभर २१ वटा धर्मकाटा संचालनमा छन्। महासंघका अनुसार ती सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ। डिजिटलाइजेशनपछि ओभरलोड ट्रकहरूको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिने महासंघले जनाएको छ ।
डिजिटल प्रणालीको मुख्य उद्देश्य महासंघका सदस्यहरूको विवरणलाई केन्द्रीय रूपमा सुरक्षित राख्नु, भारतीय र अन्य विदेशी मालवाहक सवारी साधनलाई निगरानीमा राख्नु, र तोकिएको क्षमताभन्दा बढी भार बोकेर हुने दुर्घटना र क्षति न्यूनीकरण गर्नु रहेको छ। यो प्रणालीले सवारी साधन दुर्घटनामा परेको वा विग्रिएको अवस्थामा आवश्यक जानकारी सम्बन्धित पक्षसम्म तुरुन्त पुर्याउने, बीमा दावीमा सहजीकरण गर्ने, र राजस्व प्रणालीमा पारदर्शिता ल्याउने ठानिएको छ।
त्यस्तै गत मंसिर ४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रूपमा एक कार्यक्रमकाबिच धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया