काठमाडौं । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा केही परियोजना संशोधनसहित बुधबार हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा उपलब्ध विवरण अनुसार बिआरआई फ्रेमवर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले छनोट गरेका ठूला र महत्त्वकांक्षी परियोजना समावेश भएका छन् ।
जसअन्तर्गत प्रधानमन्त्री ओलीको गृहजिल्लामा स्पोट्र्स कम्प्लेक्स र सभापति देउवाको जिल्लामा सिटी हल निर्माण परियोजना समावेश गरिएको छ । टोखा–छहरे सुरुङ मार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेल्धुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन १÷२, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोट्र्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना फ्रेमवर्कमा समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिआरआई फ्रेमवर्कमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका कायमुकायम सचिव अमृत राई र चिनियाँ समकक्षीले बुधबार बेइजिङमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमण जानुभन्दा पहिले सत्तारूढ कांग्रेस–एमालेबीच बिआरआई परियोजना समझदारी गर्नेबारे सहमति भएको थियो । चीनले प्रस्ताव गरेको बीआरआई सम्झौता मस्यौदामा व्यापक परिवर्तन गर्दै बिआरआई सहकार्य फ्रेमवर्क राख्ने सहमति गरेको थियो । जसमा दुवै दलले ठूला र महत्त्वकांक्षी परियोजना समावेश गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया