९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सडक निर्माण

३१ वर्ष पहिले ट्रयाक खोलिएको सडक १० दिन बन्द गरेर कालोपत्रे

हालसम्म ८५० मिटर सडक कालोपत्रे



काठमाडौं । ३१ वर्ष पहिले ट्रयाक खोलिएको सडकखण्ड १० दिन बन्द गरेर कालोपत्रे गरिने भएको छ । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडकखण्ड बन्द गरि कालोपत्रे गर्न लागेको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए ।

उनका उनुसार बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माणकार्य सुरु गरिएकाले १० दिन बन्द गरिएको हो । हिजो (बुधबार)देखि १० दिनका लागि उक्त सडकखण्ड बन्द गरिएसँगै सवारी आवागमनमा रोक लगाइएको अध्यक्ष भट्टराईले बताए ।

सडक ट्रयाक खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो । संघीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए । व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार ५.५ देखि ७.५ मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ । हालसम्म ८५० मिटर सडक कालोपत्रे भइसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २० मंसिर २०८१, विहीबार