२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

युद्ध सङ्ग्रहालय

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै



कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।

कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ सास्ती भोग्नुपरेको थियो । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो । सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध सङ्ग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ सङ्ग्रहालय निर्माण थालिएको उनले उल्लेख गरे ।

‘नगरपालिकाले पनि सङ्ग्रहालय निर्माणमा सहयोग गरिरहेको छ”, नगरप्रमुख शाहीले भने, ‘प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बनिरहेको छ, यसले आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने र द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हुने विश्वास लिएका छौँ ।’

द्वन्द्वको बेला तत्कालीन शाही सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ ।

‘विसं २०६२ साउन २३ गते विद्रोही र तत्कालीन शाहीबीच दोहोरो भिडन्त हुँदा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँले लिएको छ,’ स्थानीय मानबहादुर मल्लले भने । सो समयमा सबैभन्दा बढी मानवीय क्षति भएकाले यसलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे । -रासस

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १८ पुस २०८१, विहीबार