२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

गुरुयोजना

यस्तो छ ५ हजार किलोमिटर सडक निर्माण गर्ने सरकारी गुरुयोजना



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पाँच हजार किलोमिटर बराबरको सडक निर्माण गर्न गुरुयोजना तयार गरेको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक सडक सञ्जाल गुरुयोजनासम्बन्धी कार्यशाला गोष्ठीमा प्रदेशका नौवटै जिल्लामा एक सय ६६ सडकको गुरुयोजना तयार गरिएको जानकारी दिइयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा रहेका सडकको मसिनो विश्लेषण गरेर गुरुयोजना बनाउन राम्रो हुने बताए। उनले गुरुयोजनामा प्रदेशमा कस्ता सडकको आवश्यकता छ ? निर्माण गर्न चाहिने स्रोत सुनिश्चितताको स्थितिबारे पनि सचेत भएर काम गर्दा परिणाम आउने बताए ।

प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिममा सरकारले बनाएको गुरुयोजनाअनुसार प्रदेश लोकमार्ग र प्रदेश सहायक लोकमार्गको पहिचान गर्दै वर्गीकरण गरिएको बताए । उनले दूरीका हिसाबले सबैभन्दा धेरै अछाममा सात सय ७२ किलोमिटर लम्बाइका १९ योजना छनोट गरिएको जानकारी दिए ।

यसैगरी बैतडीमा सात सय १२ किमी बराबरका २६, बझाङमा छ सय ४८ किमीका १९, डोटीमा छ सय १७ किमीका १५, कैलालीमा पाँच सय ५६ किमीका २३, बाजुरामा चार सय ८९ किमीका २०, डडेल्धुरामा चार सय ७९ किमीका १३, दार्चुलामा चार सय ४२ किमीका १७ र कञ्चनपुरमा दुई सय ७९ किमीका १४ योजना परेका मन्त्री पालले जानकारी दिए । मन्त्रालयले गुरुयोजनाअन्तर्गत छनोट गरेका सडक प्रदेश सरकारबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरी पाँचदेखि १० वर्षमा प्राथमिकताका आधारमा निर्माण गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार