काठमाडौं । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिकोे विवरण संकलन थालिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, ‘अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन । तर, हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण संकलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।’
उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए ।
‘लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ । तर, टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण संकलनमा समस्या भएको छ,’ उनले भने । भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए ।
त्यस्तै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण संकलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने, ‘स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ ।’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए । उनले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए । –रासस
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया