माघ ४ काठमाडौँ : बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गमध्येको थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान मार्ग) ७ गतेबाट सुचारु हुने भएको छ। करिब एक महिनाका लागि सवारी आवतजावत पूर्ण रुपमा बन्द गरिएको यो सडक खण्ड सुचारु हुने भएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर राम कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सडकको स्तरोन्नतिको करिब अन्तिम चरणमा पुगिसकेको बताइएको छ।करिब २ सय मिटर सडक खण्डको स्तरोन्नतिको काम बाँकी रहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँसंग सडकको स्तरोन्नति गर्ने समयावधि माघ ७ गतेसम्म मात्रै रहेकाले सोही दिनबाट सडक सुचारु हुने उहाँको भनाई छ।
झण्डै एक किलोमिटर सडकको स्तरोन्नति गर्ने तयारी रहेको बताउदै उहाँले बाँकी ६ सय मिटर सडक खण्ड आगामी असार मसान्तसम्म कालोपत्रे गरिसक्ने पनि जानकारी दिनुभयो । उहाँका अनुसार सडक सुचारु भइसकेपछि पनि कालोपत्रेको काम भने निरन्तर जारी रहने छ। यस अघि सडकको स्तरोन्नति गर्न एक महिनाका लागि यो सडक खण्ड बन्द गरिएको थियो । सकेसम्म ७ गतेसम्म काम सम्पन्न गरिसक्ने यदि काम सम्पन्न नभएपनि सडक भने सुचारु गरिहाल्ने उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय काठमाडौंले एक सूचना निकालेर उक्त सडकखण्ड एक महिनाका लागि बन्द गर्ने जानकारी गराएको थियो । डिभिजन कार्यालयले ७ पुसदेखि ६ माघसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने भनिएको थियो ।स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो । डिभिजन कार्यालयले यस अवधिमा उक्त सडक भएर चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आह्वान गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया