काठमाडौं । पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ । विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो ।
रौतामाई गाउँपालिकाको मुर्कुची, पुवाँरे, डिल्लीबर माझखर्क सडक र लिम्चीङबुङ गाउँपालिकाको बासबोटे, माझखर्क, बलाम्ता र ताम्लिछा सडक ग्रामीण सडकको अवस्था नाजुक भएका कारण यातायात सञ्चालन समेत जोखिमपूर्ण भएको यातायात व्यवसायी एवं चालकहरूले गुनासो गर्दै आएका छन् ।
जिल्लाको उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा तथा ताप्ली गाउँपालिकाको नुनथला पिपलभञ्ज्याङ, रूपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म पनि कालोपत्रे हुन नसक्दा सडक भत्किएको तथा ठूला खाल्डा परेको कारण यातायात सञ्चालन जोखिमपूर्ण रहेको यातायात व्यवसायी कुमार राउतले बताए ।
रौता, मुर्कुची पुवाँरे डिल्लीबर सडकखण्डको २७ किलोमिटर २०६६ सालमा नै कच्ची सडक निर्माण भएको भए पनि त्यसपछिका दिनमा सडक खाल्डा परेको र ठाउँ–ठाउँमा भत्किएको र जीर्ण अवस्थामा रहेको कारण यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको मुर्कचीका यातायात व्यवसायी रूद्रबहादुर मगरले बताए । उनका अनुसार ग्रामीण सडकमा समान्य लोड गाडी सञ्चालन गर्दा पनि धेरै जोखिम छ । ज्यान नै माया मारेर यातायात सञ्चालन गर्न बाध्य हुन परेको छ ।
यस्तै रूपाटार, नुनथला पिलभञ्ज्याङ ग्रामीण सडकको २५ किलोमिटर सडक पनि जोखिमपूर्ण अवस्थामा रहेको ताप्लीका यातायात व्यवसायी जीवन तामाङ बताउँछन् । उनका अनुसार १५ वर्षअघिनै निर्माण भएको यस क्षेत्रका कच्ची सडकमा अहिलेसम्म पनि ग्राभेलिङ र कालोपत्रे भएको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया