काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि विभागले परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको छ ।
तराई मधेसका क्षेत्रहरूमा खानेपानीको समस्या समाधान गर्न खानेपानीमन्त्री प्रदीप यादवको पहलअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूबाट आशयपत्रको आह्वान गरेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन, स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दिगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण रहने मन्त्री यादवले बताए ।
उनले भने, “यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्षहरू पहिचान गर्न मद्दत गर्नेछ । जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ ।”
यसैगरी, जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतहरूमा गम्भीर असर परेको तथा तराई क्षेत्रमा भू–जलको सतह घट्दै गएको, मधेस प्रदेशका जिल्लाहरू, पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रसित रहेका, तराई मधेसका क्षेत्रहरूमा खानेपानीको समस्या उत्पन्न भएको छ । -रासस
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया